समाचार

ओहायो गभर्नर डिवाईनको दोश्रो टेष्ट नेगेटिभ

एजेन्सी

ओहायो राज्यका गभर्नर माईक डिवाईनको कोभिड १९ को दोश्रो परिक्षण नेगेटिभ आएको छ । गभर्नर माईक डिवाईन बिहिबार दिउँसो कोरोना संक्रमित भएको बिज्ञप्ति निकालिएको थियो । त्यति मात्र होईन गभर्नरको आफ्नै ट्विटर एकाउण्टबाट समेत पोजेटिभ देखिएको खबर सम्प्रेषण गरिएको थियो तर बिहिबार नै साँझ डिवाईनको जाँच नेगेटिभ आएको पुन: अर्को बिज्ञप्ति निकालिएको छ । गभर्नर डिवाईनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नको लागि गर्नै पर्ने ‘प्रोटोकल टेष्ट’ गर्दा उनको संक्रमण पोजेटिभ देखिएको उनको कार्यालयले दिउँसो निकालेको बिज्ञप्तिमा जनाइएको थियो ।  

कोरोना पोजेटिभ देखिए पनि कुनै पनि लक्षण नदेखिएको, गभर्नर कार्यालयले दिउँसोको बिज्ञप्तिमा जनाएको थियो । उनी राष्ट्रपति ट्रम्पसँग क्लिभल्याण्डस्थित बर्क लेकफ्रण्ट बिमानस्थलमा स्वागत भेट गर्ने तयारीमा थिए तर दिउँसो उनको जाँच पोजेटिभ देखिएपछि गभर्नर डिवाईनले पनि ट्विट गर्दै आफु कोरोना संक्रमित देखिएको र आफुमा कुनै लक्षण नदेखिएको बताउँदै कोलम्बस फर्किएको र १४ दिन आफ्नै घरमा क्वारेन्टिन बस्ने जनाएका थिए ।