समाचार

काठमाडौंमा सटडाउन, लकडाउनसँग के फरक हुन्छ ?

काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । यसलाई सरकारले सटडाउन भनेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले २५ गते आइतबारदेखि भदौ ८ गतेसम्म नियमित सेवा बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यलयका अनुसार यसलाई सटडाउन भनिएको हो । यसले निजी क्षेत्रलाई कुनै प्रभाव भने पार्ने छैन । निजी क्षेत्रबारे कुनै निर्णय लिनु परेमा भने उपप्रधानमन्त्रीको अध्यक्षमा रहेको उच्चस्तरीय समितिबाटै निर्णय हुनेछ । त्यसलाई मन्त्रिपरिषद्ले समेत अनुमोदन गर्नुपर्छ । तर, काठमाडौंमा कोरोना भाइरसको संक्रमण बढेपछि कार्यालयमा हुने भिडभाडले जोखिम अझ बढाउने भन्दै जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नियमित सेवा बन्द गरिएको हो ।

तर, अत्यावश्यक सेवाका काम भने जारी रहने भएको छ । बैठकको निर्णयअनुसार प्रशासन कार्यालयबाट प्राप्त हुने नयाँ नेपाली नागरिकता र प्रतिलिपि नागरिकता वितरण, हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता पत्रपत्रिका दर्ताका साथै नवीकरण, निजी सुरक्षा कम्पनी दर्ता नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण सेवा बन्द भएको छ ।

आम नागरिकका दैनिकीसँग जोडिने धेरै विषय जिल्ला प्रशासन कार्यालयमा आएर जोडिन्छ । तर, शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी कार्य भने नियमित सञ्चालनमा रहने छ । अर्कोतर्फ काठमाडौं उपत्यकामा कोरोना धेरै देखिएका ठाउँ भने सिल हुनेछन् । लकडाउनमा सबै क्षेत्रलाई एकै साथ बन्द गरिन्छ ।

तर, सटडाउनमा निश्चित क्षेत्र सील गर्ने र त्यहाँ कोरोना रोकथामका उपायमा केन्द्रित भई काम गरिन्छ । सरकारले अब देशव्यापी लकडाउन नहुने स्पष्ट पारेको छ । तर, जोखिमपूर्ण क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेछन् ।