समाचार

रुपन्देहीमा कार दुर्घटना, तीन जनाको ज्यान गयो

बुटवल । रुपन्देहीमा कार दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा तीन जनाको ज्यान गएको छ । एक जना घाइते छन् । लु २ च ६७५६ नम्बरको कार रोहिणी गाउँपालिका ४ मा दुर्घटना हुँदा चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीसहित तीन जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मृतक अन्यको सनाखत भइसकेको छैन ।

दुर्घटनामा चार जना घाइते थिए । त्यसमध्ये तीन जनाको ज्यान गएको हो । दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव घाइते रहेको प्रहरीको भनाई छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडकबाट १० मिटर तल खसेको भेटिएको छ । दुर्घटनापछि सबैलाई उपचारको लागि भिम अस्पताल भैरहवा पुर्याइएको थियो । प्रहरीले तिब्र गतिमा रहेका कारण दुर्घटनाको आंका गरेको छ ।