फिचर

लकडाउनपछि विदेशबाट घर फर्किए ४६ हजार नेपाली, अमेरिकाबाट ४२३

काठमाडौं । कोरोना महामारी सुरू भएयता हवाईमार्गबाट ४५ हजारभन्दा बढी नेपाली घर फर्किएका छन् । भारतसहित विश्वका ३० देशबाट अहिलेसम्म ४५ हजार ८ सय १२ जना नेपाल फर्किएका हुन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबारसम्म उक्त संख्यामा नेपाली घर फर्किएका हुन् ।

शुक्रबार एकै दिन १ हजार १२ जना नेपाली घर आए । विदेशमा अप्ठ्यारो परेकाहरूलाई सरकारले प्राथमिकताका आधारमा जेठ तेस्रो सातादेखि नेपाल फर्काउन थालेको थियो । नेपाल फर्किनेमध्ये सबभन्दा धेरै दुबईबाट १२ हजार १ सय ७५ जना छन् भने सबभन्दा थोरै श्रीलंकाबाट ५ जना रहेको  छ ।

यसअवधिमा साउदी अरेबियाबाट ६ हजार ९ सय ९७, मलेसियाबाट ६ हजार ६ सय २०, अस्ट्रेलियाबाट १ हजार ८७, अफगानिस्तानबाट ३३, ओमानबाट ४ सय ९२, म्यानमारबाट २६, कुवेतबाट ६ हजार ३ सय २९, जापानबाट १ हजार २३, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरीयाबाट ७ सय २०, बंगलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९ नेपाली स्वदेश फर्किए ।

सिंगापुरबाट २ सय ९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९ सय ७०, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट १ सय २७, चीनबाट २ सय ८, टर्कीबाट १ सय १०, फिलिपिन्सबाट २ सय १, स्विट्जरल्याण्डबाट १०, दक्षिण सुडानबाट २ सय ५०, भारतबाट ८५ र इराकबाट ३९ जना रहेको तथ्यांकमा उल्लेख छ ।

विदेशमा रोजगारी गुमाएका, रोगबाट ग्रस्त, गैरकानूनी रुपमा बसिरहेका, घुमघाम वा अन्य प्रयोजनमा गएका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने काम जारी रहेको छ ।