खेलकुद

चम्किए मेसी, बार्सिलोना च्याम्पियन्स लिग क्वाटरफाईनलमा

काठमाडौं । कप्तान लियोनल मेस्सी चम्किएको खेलमा इटालियन क्लव नापोलीलाई ३–१ गोल अन्तरले हराउँदै बार्सिलोन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनल प्रवेश गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा मेसीको प्रेरणादायी प्रदर्शन रहेको थियो । शनिबार राति भएको खेलमा दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–२ को नतिजा सहित बार्सिलोना क्वाटरफाइलनमा प्रवेश गरेको हो ।

खेलको १०औं मिनेटमा क्लेमेन्ट लेन्गलेटले उत्कृष्ट हेडिंग गोल गरेका थिए । २३औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको ईन्जुरी समय ४६औँ मिनेटमा सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई ३–० को अवस्थामा पुर्‍याए । यो पेनाल्टी पाउन विपक्षीले मेसीलाई पेनाल्टी बक्समा फल गरेका थिए ।

पहिलो हाफमै मेसिले गरेको अर्को उत्कृष्ट गोललाई भने भीएआर चेकबाट गोलको मान्यता दिइएन् । पहिलो हाफको खेल सकिन अन्तिम मिनेट अर्थात ५०औँ मिनेटमा लोरेन्जो ईन्साईनले पेनाल्टीमा नापोलीका लागि एक गोल फर्काएका थिए । दोस्रो हाफमा भने कुनै गोल हुन सकेन ।

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना अब सेमिफाइनल प्रवेशका लागि जर्मन क्लब बायर्न म्युनिखसंग भिड्नेछ । बायर्नले भने शनिबार राती नै चेल्सीलाई समग्रमा ७–१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको दोस्रो लेगको खेलमा ४–१ को तथा समग्रमा ७–१ को जीत निकाल्दै बायर्नले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।