फिचर

तत्काल नखुल्ने भयो हवाई र लामो दूरीको यातायात

काठमाडौं । नेपालमा तत्काल हवाई र लामो दूरीको यातायात सेवा संचालनमा नआउने भएको छ । अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखोल्न कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठक बसेर यसलाई औपचारिकता दिनेछ ।

सिसिएमसीको आइतबार बसेको बैठकले १५ दिनका लागि यी सेवा स्थगित गर्न प्रस्ताव गरेको हो । यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

तर, यसबीचमा पछिल्लो समय कोरोनाको ग्राफ बढेको छ । यसले सरकारलाई झस्काएको छ । बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो अनुसार काम गराउन समेत प्रस्ताव गरेको छ ।