फिचर

स्कूल र पठनपाठन थप एक महिना बन्द

काठमाडौं । नेपालका स्कुल, पठनपाठन र नयाँ भर्नाको काम थप एक महिना पर धकेलिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच नेपालमा असोजबाट मात्र शैक्षिक गतिविधि शुरु गर्ने तयारी गरिएको हो । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १ असोजसम्म सार्ने प्रस्ताव गरेको हो ।

यो प्रस्तावलाई सोमबार बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गर्नेछ । सिसिएमसीले हवाई र सडक यातायात संचालनको निर्णय १५ दिन पर सार्ने गरी प्रस्ताव गरेको छ । स्कुलहरुमा भने क्वारेन्टिन बनाइएको र कोरोना संक्रमित बढ्ने अवस्था रहेका कारण तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने निष्कर्षमा सरकार पुगेको हो ।

यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो । तर, पछिल्ला दिनमा राजधानीसहित देशभर कोरोना भाइरसको संक्रमण तिब्र गतिमा भइरहेको छ । नेपालमा मृत्युदरसमेत वृद्धि भएको निष्कर्ष समेत सरकारले निकालेको छ । अहिले नेपालमा दैनिक औसतः तीन चार जनाको ज्यान कोरोना भाइरसका कारण गइरहेको छ । आइतबार मात्र तीन जनाको ज्यान गएको छ ।