फिचर

काठमाडौं प्रवेशमा अझ कडाई, संक्रमित बढी भएका जिल्लाबाट पास नपाइने

काठमाडौं । सरकारले लामो दुरी र अन्तर जिल्ला यातायात सेवा थप १५ दिन बन्द गरेको छ । यसबीचमा अब काठमाडौं प्रवेशलाई समेत कडाई गरिने भएको छ । सरकारले सक्रिय संक्रमितको संख्या २ सयभन्दा माथि रहेको जिल्लाबाट अब काठमाडौं आउन पास नदिने गरी निर्णय गर्ने तयारी गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका छिर्ने पास नदिने गरी रोक लगाउन सरकारलाई सिफारिस गरेको हो ।

अब अति प्रभावित जिल्लाबाट अत्यावश्यक काम परेपनि काठमाडौं छिर्ने पास पाइने छैन । यसअघि पास बनाएर सहजै मानिस काठमाडौं आउने गरेका थिए । अहिले काठमाडौंमा संक्रमित बढेको र  ठूलो संख्या जिल्ला बाहिरबाट आउने भएकाले यस्तो निर्णय भएको बताइएको छ । यो सिफारिसलाई आज बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ ।

काठमाडौं उपत्यकामा जोखिम घटाउन फुटपाथ, ठेलागाडा र साइकलको व्यापार पूर्णरुपमा बन्द गर्न सिफारिस गरिएको छ । यसले सडकमा भीडभाड बढाएको निष्कर्षमा सरकार पुगेको छ । कोरोना संक्रमण समुदायस्तरमा विस्तार हुन फुटपाथ, ठेलागाडा र साइकलमा भइरहेको तरकारी, फलफूल, खाद्यान्नलगायतको व्यापारले सहयोग गरेको छ । साथै कवाडी संकलनमा समेत रोक लगाउन सिफारिस भएको छ ।