रोचक खवर

लकडाउनको कृषिमा सकारात्मक प्रभाव, ५ वर्षयताकै बढी धान रोपाई

काठमाडौं । देशव्यापी लकडाउनका कारण मुलुक असारसम्म करीव ठप्प अवस्थामा थियो । सरकारले ११ चैतमा लकडाउन घोषणा गरेको थियो । त्यसपछि काठमाडौंसहितका शहर र भारतबाट समेत मानिसहरु दुख कष्ट सहेरै गाउँसम्म पुगे । यसरी गाउँ पुगेका मानिसहरु लामो समय गाउँमा थपिएको सकारात्मक प्रभाव कृषिमा देखिन थालेको छ ।

देशभर असारे धानको रोपाइँ सकिएको छ । यस वर्ष पछिल्लो पाँच वर्ष यताकै सबैभन्दा धेरै क्षेत्रफलमा रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । यसमा शहरबाट गाउँ पसेका मानिसको ठूलो हात देखिएको छ । यो वर्ष कुल धान रोपाइँ हुने क्षेत्रफलको ९८.१९ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

गत वर्ष कुल क्षेत्रफलको ९७.९३ प्रतिशत भूभागमा रोपाइँ भएको थियो । देशभर रोपाइँ योग्य १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल मध्ये यसवर्ष १३ लाख ४६ हजार ९ सय २० भूभागमा रोपाइँ सकिएको छ । तथ्याक अनुसार गत वर्षको तुलनामा यस वर्ष उच्च पहाड, मध्य पहाड र तराईका धेरै भूभागमा रोपाइँ भएको हो ।

उच्च पहाडमा ९८.५४ प्रतिशत, मध्य पहाडमा ९७.२७ र तराईमा ९८.५० प्रतिशत भूमीमा रोपाई भएको छ । यो वर्ष सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९.८६ प्रतिशत भूभागमा रोपाइँ भएको छ । यो वर्ष वर्षातसमेत निरन्तर भएका कारण उत्पादन राम्रो हुने अपेक्षा सरकारको छ ।