विज्ञान प्रविधि

सरकारले भन्यो : व्यवसायिक प्रतिष्ठानले पैसा तिरेर पिसिआर गराउनु

काठमाडौं । सरकारले उद्योगधन्दा तथा व्यवसायिक प्रतिष्ठानले पैसा तिरेर आफ्ना कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गराउन आग्रह गरेको छ । सपिङ मल, रेष्टुरेन्ट, होटल र उद्योग व्यवसायमा संलग्न व्यवसायी र कर्मचारीलाई आफ्नै खर्चमा कोरोना संक्रमण परीक्षण गराउन सरकारले आह्वान गरेको छ । पछिल्लो समय शहरी इलाकामा कोरोना भाइरसको संक्रमणको दर बढेको छ ।

जसले मृत्युदर समेत उकालो लागेको छ । बुधबार मात्र देशभर १० जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको पुष्टी भएको छ । सोहीकारण पिसिआर परीक्षणको दायरा बढाउन सरकारले यस्तो नीति ल्याएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी यस्ता व्यवसायमा संलग्न हुने व्यक्तिको सम्पर्कमा धेरै व्यक्ति आउने र जोखिम हुने अवस्था भएको भन्दै आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्न आग्रह गरेको हो ।

सरकारले भनेको छ, ‘नेपालका घनावस्ती भएका जिल्लाहरुका विभिन्न शहरहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ । त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने व्यवस्था गर्नुहुन अनुरोध गरिन्छ ।’