स्वास्थ्य

आज नेपालमा कोरोनाबाट सर्वाधिक मानवीय क्षति, एकै दिन १० जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट बुधबार सर्वाधिक संख्यामा मानवीय क्षति भएको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको पुष्टि भएको हो । सोमबार जनकपुरको रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका ६ का ५२ वर्षीय पुरुष र मङ्गलबार दिउँसो वीरगञ्ज महानगरपालिका १६ को सडकमा मृत भेटिएका बाराको विश्रामपुर ५ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यससँगै अब २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । अब नेपालमा कोरोना भाइरसको संक्रमण भई ज्यान गुमाउने मानिसको संख्या ९२ पुगेको छ । पछिल्लो एक सातायता नेपालमा कोरोनाबाट मृत्युदर ह्वात्तै बढेको हो । पछिल्लो २४ घण्टा भित्र काठमार्डाैंको किस्ट अस्पतालमा उपचारार्थ काठमाडौं टेकुकी ७८ वर्षीया महिला र बाराको कलैयाका ७५ वर्षीय पुरुषको ज्यान गएको थियो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाको जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा जनकपुरकै ७२ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको हो । धादिङको नीलकण्ठ नगरपालिका १४ को धुँवाकोटका ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा मृत्यु भएको छ ।

यस्तै कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा कपिलवस्तु नगरपालिका २ को तौलिहवाका ४२ वर्षीय पुरुष र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मोरङको बूढीगङ्गा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ ।

उता, सप्तरीको डाक्नेश्वरी–८ घर भइ राजविराज ६ मा बस्ने ७२ वर्षीय पुरुषको आइसोलेशनमा लैजाने क्रममा एम्बुलेन्समै मृत्यु भएको थियो । उनमा समेत कोरोना पुष्टी भएको छ । काठमाडौंमा मृत्यु भएकाहरुको विद्यूतीय शवदाह गृहमा अन्तिम संस्कार गरिएको छ । शव व्यवस्थापनमा नेपाली सेनाको टोली खटिएको छ ।