विज्ञान प्रविधि

रसियन भ्याक्सिनको सकारात्मक परिणाम, पुटिनको छोरीमा एन्टिबडी विकास

काठमाडौं । कोरोना भाइरसविरुद्ध रसियाले बनाएको भ्याक्सिनले सकारात्मक परिणाम दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । रुस आधिकारिकरुपमा कोरोनाविरुद्धको भ्याक्सिन दर्ता गर्ने विश्‍वकै पहिलो मुलुक हो । भ्याक्सिनको पहिलो डोज राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीलाई दिइएको थियो। उनमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने एन्टीबडीको विकास भएको चिकित्सकले जनाएका छन् ।

साथै भ्याक्सिन लिएपछि उनमा ज्वरो समेत कम भएको छ । भ्याक्सिन लगाएपछि उनको शरीरको तापक्रममा आएको परिवर्तन रेकर्ड गरिएको छ । छोरीले आराम अनुभव गरेको रुसी संचारमाध्यमले जनाएका छन् । पुटिनका दुई छोरीमध्ये कसलाई भ्याक्सिन दिइएको हो भन्ने खुलाइएको छैन ।

रुसले लामो प्रयास र अनुसन्धानबाट भ्याक्सिन बनाएको भन्दै यो सुरक्षित रहेको सन्देश दिन समेत पुटिनले आफ्नै छोरीमा यसको पहिलो परीक्षण गरेका हुन् । संचारमाध्यमहरुका अनुसार यो खोपको २० देशले अर्डर गरिसकेका छन् । रुसी स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले यसको पुष्टी गरेका छन् । भारत, साउदी अरब, इन्डोनेसिया, फिलिपिन्स, ब्राजिल, मेक्सिकोलगायत मुलुकले यो खोपको प्रिबुकिंग लिइसकेका छन् ।
एजेन्सी