फिचर

विश्वकप छनोटका खेलहरु फेरी स्थगित

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच कतारमा आयोजना हुने विश्वकप तथा २०२३ मा चीनमा आयोजना हुने एसियाकपका छनोट खेलहरु फेरी स्थगित भएका छन् । कोरोनाले खेलाडीहरुको एक अर्का मुलुकमा हुने आगमन झण्झटिलो बनेको छ । अर्कोतर्फ जोखिमसमेत उत्तिकै रहेको भन्दै एसियाली फुटबल कन्फेडेरेसन (एएफसी)ले सन् २०२० भर कुनै पनि प्रतियोगता नगर्ने बताएको हो ।

अब कम्तिमा ५ महिना छनोट खेलहरु हुने छैनन् । यसले नेपालले गरिरहेको तयारी समेत अब पर धकेलिएको छ । एएफसीले फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु स्थगित गरिएको उल्लेख गरेको छ । एएफसीले छनोट कहिले हुने भनेर नयाँ मिति समेत घोषणा गरिएको छैन ।

यो प्रतियोगिताअन्तर्गत नेपालले दशरथ रंगशालामा असोज र कात्तिकमा तीन खेल खेल्ने कार्यतालिका थियो । नेपालको खेल असोज २२ मा चाईनिज ताईपेसँग तथा २७ असोजमा अष्ट्रेलियासँग थियो । नेपाल यी खेलको तयारीमा जुटेको थियो । सोहीक्रममा खेलाडीहरुको कोरोना परीक्षण समेत गरिएको थियो ।