फिचर

काठमाडौंमा निषेधाज्ञा जारी, अब के के गर्न पाइन्न ?

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । खासगरी बढी भीडभाड हुने गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले यस्तो आदेश जारी गरिएको हो । स्थानीय प्रशासनले सार्वजनिक स्थलमा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघट गर्न समेत रोक लगाएको छ । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

अब खुला स्थानमा भेला हुने, भिडभाड गर्ने र सभाजुलुस गर्न पाइने छैन । यस्तो आदेश आजैबाट लागु भएको छ । भदौ १५ गते राति १२ बजेसम्म प्रतिबन्ध कायम रहनेछ । यस अवधिमा भिडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न रोक लगाइएको छ । दैनिक नित्यपूजाबाहेक सम्पूर्ण धार्मिक गतिविधि गर्न पाइने छैन ।

चाडपर्व, धार्मिक– साँस्कृतिक काम गर्दा हुने आफन्तहरुको जमघटमा पनि प्रतिबन्ध लगाइएको छ । अब परिवारका सदस्यबाहेक आफन्तलाई बोलाएर धार्मिक साँस्कृतिक गतिविधि गर्न पाइने छैन । यसअवधिमा नेपालीहरुको महान पर्व तीज पर्छ । शैक्षिक संस्थाहरू सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ ।

कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडारसाइकल सञ्चालन हुने व्यवसायमा पनि रोक लगाइएको आदेशमा उल्लेख छ । उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकको ओसारपसार गर्ने र टेक अवेबाहेक रेस्टुरेन्ट सञ्चालनमा पनि कडाइका साथ प्रतिबन्ध लगाइएको छ ।