रोचक खवर

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोनवार्ता

काठमाडौं । नेपाल र भारत बीचमा बढ्दो राजनीतिक विवादका बीच दुई मुलुकका प्रधानमन्त्रीबीच आज फोनवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीलाई बधाई ज्ञापन गरेका छन् । यसबाहेक दुई प्रधानमन्त्री बीच संयुक्त राष्ट्र सुरक्षा परिषदको अस्थायी सदस्यका रुपमा भारतलाई बधाई समेत ज्ञापन गरेका थिए ।

दुई मुलुकका प्रधानमन्त्री बीच कोरोना वाइरसको महामारीबाट माथि उठ्न संयुक्त प्रयासको आवश्यकता रहेकोमा जोड दिइएको थियो । भारतीय प्रधानमन्त्री मोदीले भारत सधै नेपालसँग राम्रो सम्बन्धको पक्षमा रहेको बताएका छन् । पछिल्लो समय नेपाल र भारतबीच चुलिएको विवादका बीच भएको यो फोन वार्ताले धेरै हदसम्म सम्बन्ध सुधारमा भूमिका खेल्ने विश्वास दुबै मुलुकले लिएका छन् ।

नेपालले लिपुलेख र लिम्पुयाधुरासहितको नक्सा समावेश गरी राजनीतिक नक्सा जारी गरेपछि दुई मुलुकबीच सम्बन्ध राम्रो बनेको छैन । यसैबीच नेपालका लागि भारतीय राजदूत विजय मोहन क्वात्रा र परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीबीच १७ अगष्टमा औपचारिक भेटवार्ता हुँदैछ । यो नक्सा जारी भएपछिको नेपाल र भारतीय अधिकारीबीचको पहिलो औपचारिक भेटवार्ता हुनेछ ।