फिचर

कोरोनाबाट यो साता विदेशमा नेपालीको मृत्यु शून्य

काठमाडौं । विदेशमा रहेका नेपालीहरु क्रमशः कोरोना भाइरसको संक्तमणबाट उम्कदै गएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता कोरोना संक्रमणका कारण विदेशमा कुनै पनि नेपालीले ज्यान गुमाउनु परेन् । अहिले विदेशमा नेपालीलाई कोरोना संक्रमणको दरसमेत न्युन बन्दै गएको छ ।

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । अन्य देशमा भने कोरोना संक्रमणको दर न्यून बन्दै गएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार विश्वका ३८ देशमा नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

हालसम्म नेपालसहित विश्वभर २ सय ९३ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिणअफ्रिका लगायतका देशमा रहेका नेपालीको ज्यान गएको एनआरएनएले जनाएको छ । हालसम्म नेपाल सहित ५९ हजार ४ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । तिमध्ये ४८ हजार ५ सय ४ जना कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।

उता, सरकारले अब विदेशबाट दैनिक ५ सय जना नेपालीलाई मात्र उद्धार गर्ने गरी लिएको नीतिमा भने गैरआवासीय नेपाली संघले असन्तुष्टी जनाएको छ । उद्धारलाई तिबता दिनु पर्ने समयमा संख्या घटाउनु व्यवहारिक नभएको संघको भनाई छ । यो निर्णय पुनर्विचार गर्न एनआरएनएले नेपाल सरकारलाई आग्रह गरेको छ ।

विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा सरकारको निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्र गतिमा अघि बढाउन एनआरएनएले नेपाल सरकारलाई आग्रह गरेको हो । एनआरएनए अन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौंको संख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा कोरोना महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरु यो निर्णयले थप निराश बनेका छन् ।

सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३ सय र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी २ सय जना गरेर जम्मा ५ सय जनालाई दैनिक उद्धार गर्ने नीति लिएको छ । अहिलेसम्म विदेशमा अलपत्रमध्ये ५१ हजार ४ सय ४१ जनालाई घर ल्याइएको छ ।