समाचार

आर्थिक नियमिततामा मुछिएका तीन सैनिक अधिकृत बर्खास्त

काठमाडौं । नेपाली सेनाले आर्थिक अनियमिततामा मुछिएका आफ्ना तीन अधिकारीलाई बर्खास्त गरेको छ । सैनिक अदालतबाट दोषी ठहरिएका तीन जना अधिकारी सैनिक सेवाबाट बर्खास्त भएको सेनाले जनाएको छ । उनीहरुलाई सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सेनाले कारवाही गरेको हो ।

नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई समरी जनरल सैनिक अदालतले बर्खास्तीको फैसला सुनाएको हो । पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा दोषि ठहर भएका हुन् ।

समरी जनरल सैनिक अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर बिष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई भने सफाइ दिने फैसला गरेको हो । सैनिक भित्रको अनियमितताको अनुसन्धान र फैसला सैनिक आफैले गर्छ ।