17-Nov-2019 | १ मंसिर २०७६, आईतवार

जीवन जयन्ती

१३ असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


म बेरोज़गार भएको उ बेला 

देशको ठेकेदारहरूलाई

सम्झि सम्झि कुर्लन्थे

टुडिखेलमा खाल्डो खनेर

सबै नेतालाई पुरेको सपना देख्थे 

आजको पुस्ताले गोलीले उडाउने भन्दा

म अतित फेरि सम्झन्छु अभावको 

अहिले प्रवासमा बिकास देख्दा 

माकुराको जालो जस्तो बाटोहरू हेर्दा 

मन मनै खुब सम्झन्छु 

हाम्रो नेताहरूलाई किन मार्नु ? 

बरू लाईन लगाएर 

हत्केलामा गैती बेल्चा झ्याम्पल कोदालो दिएर 

बाटो खनाउनु पर्ने जीवन भरी

मर्न अगाडि बिकासको पूर्वधार सिकुन 

श्रमको पसिना के हो जानुन्

सजाए यस्तो दिन मन लाग्छ आजभोली

मरे त सकी गयो नि 

ज़िम्मेवार कहिले हुनु ? 

राष्ट्रलाई माया कहिले गर्नु ? 

यसै जूनीमा मान्छे हुन 

बाटो खन्दै खन्दै स्कुल पुर्याउन

त्यहिबाट दोबाटो जोडेर अस्पताल 

थाह होस हाम्रो नेताहरूलाई 

देश त बिकास तिर यसरी लम्कन्छ 

यहाँ देख्छु

एउटा टोलमा एउटा पार्क 

जहाँ बच्चाहरू खेल्छन् 

ठूलाहरू  उफ्रन्छन्, दौडन्छन् 

अनि जान्छन् नजिकै लाइब्रेरी 

पढछन् नजानेका अनेक कुरा 

मेरो मन पोलिरहन्छ कता कता

तुइन चढेर स्कूल गएको भाईबहिनी

घर फर्कन सक्यो सकेन सम्झनाले 

प्रवासको मेरो भोगाईले 

जीवनलाई सकारात्मक बनाएको छ 

बाँचेर मात्र गर्न सकिने चमत्कारहरू 

बाँचेर गर्न मन छ 

मर्न दिन मन छैन 

षडयन्त्रको खेलाडीहरूलाई पनि 

आत्माग्लानीमा सडिएर 

आफ्नो दुर्गन्ध आफैले सफा गरून 

जीवनले क्षमा गरेको यो बेला 

सर्वाङ्ग पखालिएर संजिवनी बुट्टीबाट

दृष्टिहरूले सबैलाई मान्छे देखुन 

खुनको रंग एउटै हो स्वीकारून 

सृष्टिको समान उपजले

सपना उस्तै देख्ने क़सम खाउन

नभए त तिम्रो बिपरित खोपड़ी 

बर्तमान पुस्ताको सदृष्टिहरूले

सडकमा फुटबल खेलेको देख्ने छौ

दिपा राई पुन

बोष्टन, अमेरिका

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार