मनोरञ्जन

आज बुबाको मुख हेर्ने दिन

काठमाडौं । भाद्र कुशे औंसी, आज बुबाको मुख हेर्ने दिनका रुपमा जन्म दिने बुबालाई सम्मान प्रकट गर्दै मनाइदैछ । यो दिन बुवालाई मिठो परिकार खुवाउने, उपहार प्रदान गर्ने र बुबाबाट आशिर्वाद लिने गरिन्छ । यो पटक कोरोना भाइरसको संक्रमणका कारण धेरैले बुवालाई भौतिक रुपमा भेटन सक्ने छैनन् । सोहीकारण टेलिफोन वा भिडियो कल गरेर आर्शिवाद लिनेछन् ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने धार्मिक विश्वास रहेको छ । बुवा नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने प्रचलन रहेको छ ।

आजको दिन काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ । तर, यो वर्ष भने मन्दिर प्रवेशमा रोक लगाइएको छ । यस वर्ष सकेसम्म घरमै बसेर चाडपर्व तथा उत्सव मनाउन सरकारले आह्वान गरेको छ ।

त्यसमाथि बिहीबारबाट शुरु हुने लकडाउनका कारण मानिसहरुको आवागमन झनै कडा हुनेछ । भाद्र कृष्ण औैंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि प्रचलन रहेको छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।