फिचर

राती १२ बजेदेखि काठमाडौंमा निषेधाज्ञा, अटेर गरे सिधै कारवाही

file

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा संक्रमण बढेको निष्कर्ष निकाल्दै आजराति १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा घोषणा गरेको छ । अब अतिआवश्यक काम नपरेसम्म घर बाहिर निस्कन पाइने छैन । निषेधाज्ञा एक सातासम्म कायम रहनेछ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा छुट पाउने वस्तु तथा सेवाको सूची सार्वजनिक गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार निषेधाज्ञाको समयमा खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा सञ्चालन हुनेछ । बीउबिजन, मासुजन्य पदार्थ, दाना र भेटरीनरी, बैंक, बिमा, औषधिजन्य सामग्री, स्वास्थ्यसँग सम्बन्धित अन्य सामग्री, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापन आदि सेवा पनि सञ्चालन हुनेछ ।

एम्बुलेन्स\शव वाहन\दमकल, कूटनीतिक नियोग, डाक तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी कार्य, सञ्चार सेवा, विद्युत सेवा, मृत्यु संस्कार सम्पन्न गराउने व्यक्ति चढेको सवारी साधन निषेधाज्ञामा सञ्चालन हुन पाउँछन् । विवाहमा ७ जना मात्र जन्ती जान पाउने प्रावधान राखिएको छ ।

यसबाहेक कोभिड १९ को क्वारेन्टिन, आइसोलेसनको व्यवस्थापनसम्बन्धी काममा रहेकाहरुको सवारी साधनलाई फोटोसहितको परिचय पत्र र कार्य प्रयोजन खुल्ने सामग्री देखाएमा छुट दिइने भएको छ । अटेर गर्नेलाई भने प्रहरीले कारवाही गर्ने भएको छ ।