समाचार

काठमाडौं बाहिर नजान र भित्र नआउन मेयरको आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर तथा उपत्यका मेयर फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले काठमाडौं छाडेर बाहिरी जिल्ला नजान र बाहिरबाट समेत काठमाडौ नआउन सर्वसाधारणमा अपिल गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै मेयर शाक्यले निषेधाज्ञालाई इमानदारीसाथ पालना गरी घरबाहिर ननिस्कन समेत सर्वसाधारणलाई अपिल गरेका छन् ।

सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत एक हप्ताका लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । यसको पूर्ण पालना गर्न उनले आग्रह गरेका छन् । अत्यावश्यक काम परेर घरबाहिर निस्कन परेमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र निस्कन उनले अपिल गरेका छन् ।

कोभिड–१९ को सङ्क्रमण जीवित रहेको अवस्थामा कोही पनि व्यक्ति काठमाडौं बाहिर नजान र काठमाडौं भित्र नआउने समेत उनले आग्रह गरेका छन् । कोही व्यक्ति आइसकेको भए नजिकको वडा कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराउन उनले आग्रह गरेका छन् ।

आफ्नो छिमेकमा कोही व्यक्ति काठमाडौं बाहिरबाट आएको थाहा पाए तत्काल वडा कार्यालय तथा प्रहरी कार्यालयमा सूचना दिन उनले आग्रह गरेका छन् ।