फिचर

विदेशबाट नेपाली ल्याउन फेरी खुल्ने भयो चार्टर्ड उडान, ७ दिन होटेलमा बस्नै पर्ने

काठमाडौं । अब विदेशबाट नेपाल आउने नेपालीले कम्तिमा ७ दिन होटेल क्वारेन्टिनमा बस्नै पर्ने भएको छ । त्यो पनि आफ्नै खर्चमा । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने निर्णय गर्दै त्यसका लागि टिकटसँगै होटेल बुकिंग समेत अनिवार्य गर्ने निर्णय गरेको हो । स्थानीय तहमा क्वारेन्टिनको व्यवस्थापन गर्न नसकेपछि अब सरकारले आफ्नै खर्चमा होटेलमा बस्ने गरी नेपालीलाई घर फर्काउन लागेको हो ।

१८ सय रुपैयाँदेखि १० हजारप्रति दिन मूल्य भएका होटेलका कोठा क्वारेन्टिनका रुपमा उपलब्ध छन् । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण गर्दै यस्तो शर्त राखेको हो । अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्ने भएको छ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।

विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ । एकदिनमा बढीमा तीनवटा उडान मात्र हुनेछन् । क्वारेन्टिनबाट घर जाने क्रममा भने सबैको पिसिआर परीक्षण हुनेछ । त्यसक्रममा नेगेटिभ देखिएका व्यक्ति मात्र घर जान पाउनेछन् । यसअघि सोमबार कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले चार्टर तथा उद्धार उडान रोकेको थियो ।

जसले गर्दा नेपाल आउन पालो कुरिरहेका हजारौं नागरिक विदेशमै अलपत्र परेका छन् । सरकारले स्थलमार्गबाट छिरेका नागरिकले समेत अनिवार्य होटेल क्वारेन्टिनमा आफ्नै खर्चमा बस्नुपर्ने निर्णय गरेको छ । सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको हो ।