फिचर

भदौ १६ बाट हुने भयो नियमित उडान, पहिलो चरणमा कुन कुन देश खुला ?

File Photo

काठमाडौं । १६ भदौबाट अन्तर्राष्ट्रिय हवाई उडान नियमित हुने भएको छ । सरकारले शर्तसहित उडान खोल्ने निर्णय गरेको हो । पीसीआर परीक्षण सहज भएका देशमा मात्र पहिलो चरणमा अन्तर्राष्ट्रिय उडान हुनेछ । पिसिआर सहज हुने मुलुक बाहेकमा भने नेपालीलाई घर फर्काउने प्रयोजनका लागि साविकमा जस्तै चार्टर्ड उडान मात्र हुने भएको छ ।

पहिलो चरणमा अमेरिका, यूरोप, चीन, थाइल्याण्ड, हङकङ, मलेसियासहितका देशबाट नेपाल आउने पाइने छ । यसरी आउन पाउने सूचिमा नेपाली नागरिक, विदेशी कुटनीतिक नियोगका कर्मचारी तथा पदाधिकारी र विकास साझेदार संघसंस्थाका प्रतिनिधिलाई मात्र अनुमति मिल्नेछ । विदेशी नागरिकले भने तत्काल नेपाल प्रवेशको अनुमति नपाउने भएका छन् ।

पिसिआर परीक्षण हुन सम्भव नभएका साउदी अरव, कुवेत, कतारलगायत मुलुकबाट आउने नागरिकलाई नेपाल ल्याउनै पर्ने भए चार्टर्ड जहाज जानेछन् । यसरी जहाज चढेर आउने सबैको साथमा पछिल्लो २४ घण्टा यता गरेको पिसिआर र त्यसको नतिजा नेगेटिभ आएको प्रमाणपत्र हुनुपर्छ । अब नेपाल आउने सबै अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ ।

हवाई टिकट काट्दाकै समयमा होटेलको पैसासमेत असुल गरिनेछ । वायुसेवा कम्पनीले होटेललाई पैसा दिनेछन् । होटेलमा बस्दाको खर्च आफै तिर्नुपर्ने छ । अब जहाजले पीसीआर टेष्ट गरेका र नगरेका यात्रुलाई एउटै जहाजबाट ल्याउन पाउने छैनन् । ल्याएमा सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने भएको छ ।