विश्व

कोरोना दुई वर्ष भित्र नियन्त्रणमा आउने डब्यूएचओको विश्वास

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण स्पेनिस फ्लुको तुलनामा छिटो नियन्त्रणमा आउने अनुमान गरेको छ । कम्तिमा अबको दुई वर्ष भित्र कोरोना नियन्त्रणमा आइसक्ने संगठनको विश्वास रहेको छ । अहिले संसारभर कोरोना भाइरस विरुद्ध खोपको विकास भइरहेको छ । कतिपय स्थानमा परीक्षणको चरणमा रहेका छन् ।

सोहीकारण स्पेनिस फ्लुको तुलनामा कोरोना छिटो नियन्त्रणमा आउने विश्वास संगठनको छ । डब्ल्युएचओका प्रमुख डा टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आशा बढेको बताएका हुन् । सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन समेत दुई वर्ष लागेको थियो ।

अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने विश्वास रहेको उनले बताएका छन् । भाइरसको फैलावट भने अझै बढ्ने चेतावनी उनले दिएका छन् । तर, उपलब्ध प्रविधिका कारण भाइरस छिट्टै नियन्त्रणमा आउन सक्ने सम्भावना रहेको उनले बताए । स्वीट्जरल्याण्डमा आयोजित नियमित पत्रकार सम्मेलनका दौरान उनले यस्तो जानकारी गराएका हुन् ।

कोरोना भाइरसविरुद्धको अभियानमा सफलता पाउन राष्ट्रिय एकता र विश्वव्यापी सहकार्य भने अत्यावश्यक रहेको उनको भनाई छ । विश्वभर कुल कोरोना संक्रमितमध्ये प्रति एक सयमा ६७ जना निको भएको उदाहरण दिँदै उनले यो सकारात्मक संकेत भएको उल्लेख गरे ।

विश्वभर शनिबार बिहानसम्म २ करोड ३१ लाख ५ हजार ७८ जना संक्रमित भएको तथ्यांक छ । कुल संक्रमितमध्ये १ करोड ५७ लाख ८५२ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये १ लाख ८३ हजार ९२७ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या भने ८ लाख २ हजार ८८९ पुगेको छ ।