स्वास्थ्य

कोरोना र लकडाउनको प्रभाव, देशभरका अस्पतालमा रगत अभाव

काठमाडौं । कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि उठाएका कदमका कारण रक्तदान हुन नसकेपछि देशभर रगतको अभाव भएको छ । औपचारिक रुपमा रक्तदान कार्यक्रम राख्न नपाउँदा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जानकारी दिएको छ । केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको रेडक्रसले जनाएको छ । रेडक्रसले रक्तदान गर्न सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।

लकडाउनका कारण दूर्घटना कम भएकाले रगतको ठूलो खपत केही घटेको छ । यद्दपी नियमित रक्तदान हुन नसकेका कारण रगतको अभाव बढ्दै गएको सोसाइटीले जनाएको छ । केन्द्रीय रक्तसञ्चार सेवाकाअनुसार शनिवारको लागि बुक गरिएका अधिकांश क्याम्प निषेधाज्ञाका कारण स्थगित भएका छन् ।

दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने विरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका छन् । तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको रेडक्रसले जनाएको छ ।

केन्द्रसहित धरान, विराटनगर, चितवनलगायत स्थानमा पनि रगत अभाव भइरहेकोे रेडक्रसले जनाएको छ । अधिकांश भेगमा निषेधाज्ञा रहेको र आसपासका जिल्लाबाट पहिलेजस्तो सहयोग हुनसक्ने परिस्थिति नरहेका कारण समेत रगतको अभाव रहेको बताइएको छ ।