खेलकुद

सन्दीप चम्किएपनि टीमको हार टार्न सकेनन

काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने चम्किएको खेलमा उनको टीम भने पराजित भएको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा उनको टीम जमैकाले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार राति गुएना अमेजन वारियर्सबिरुद्धको खेलमा सन्दीप सम्मिलित जमैका १४ रनले हार्न पुग्यो ।

१ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले ७ विकेटको क्षतीमा मात्र १ सय ४ रन बनायो । सो टोलीका लागि आन्द्रे रसेलले अविजित ५२ रन बनाएपनि अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन् । बलमा चम्किएका सन्दीप ब्याटमा भने असफल रहे । ३ बल खेलेका उनी रनको खाता नखोल्दै बाहिरिए ।

पहिले ब्याटिङ गरेको गुएनाले निर्धारित ओभर सकिन ५ बल बाँकी छदै अलआउट हुँदा मात्र १ सय १८ रन बनाउन सक्यो । सन्दीपले ४ ओभरमा ८ रन खर्चिएर २ विकेट लिए । उनले शेरफेन रदरफोर्डलाई ६ रनमा आउट गराए । क्रिस ग्रिनलाई २ रनमा बोल्ड आउट गरे ।