बिचार

नेपालमा लघुवित्त क्षेत्रका चुनौति र समाधानका प्रयास

सुर्य नारायण पुरी, काठमाडौं

नेपाल राष्ट्र बैंकमा दर्ता भएर आधिकारिक वित्तीय कारोबार गर्ने सँस्थाहरु मध्ये ‘लघुवित्त वित्तीय संस्था’ राष्ट्र बैंकको वर्गिकरण अनुसार ‘घ’ वर्गमा पर्ने वित्तीय संस्था हो । लघुवित्त वित्तीय संस्थाहरुको सेवा-लक्ष भनेको पिछडिएका समुदाय र दुर्गम क्षेत्र जहाँ बैंक तथा वित्तीय पहुँच कम हुने गर्दछ । यसले खासगरी सानो पुँजी सम्बन्धि कारोवारो गर्ने गर्दछ । प्रत्येक आर्थिक वर्षमा राष्ट्र बैंकद्वारा प्रकाशित मौद्रिक नीतिमा उल्लेखित लघुवित्त सम्बन्धि व्यवस्था अनुसार महिला दिदीबहिनीहरुको सामुहिक जमानीमा कर्जा लगानि तथा ब्याज बचतको कारोवारो गर्ने गर्दछ ।
हाल नेपालमा कुल जनसंख्याको मध्ये २५.२ प्रतिशत जनता चरम गरिबीको रेखामुनी रहेका छन् । यिनै न्युन आय भएका परिवारलाई लक्षित गरेर लघुवित्त वित्तीय संस्थाहरुले आ–आफ्नो कार्यक्रमहरु सञ्चालन गरिरहेका हुन्छन् । देशको आर्थिक वृद्धि दरको चित्र हेर्दा आर्थिक वर्ष २०७५/७६ मा ७ प्रतिशत आर्थिक वृद्धिदर हाँसिल भएकोमा कोरोना महामारीले यो आर्थिक वर्ष २०७७/७८ मा २.२८ प्रतिशतमा सिमीत रहन पुग्यो ।

लघुवित्त क्षेत्रका वर्तमान चुनौतिहरु :

वर्तमान समयमा लघुवित्तहरुको मुनाफा घटदो दरमा रहेको छ । शेयरको मुल्य समेत गिरावट हुदैछ । लघुवित्तसँग स्वयम् सञ्चालित हुने पुँजी कम छ । ग्राहकहरु कर्जा लिन डराईरहेका छन अर्थात कर्जा लगानि पर्याप्त हुन सकिरहेको छैन ।ग्राहकहरुलाई मासिक बचत गर्नको लागि समेत अप्ठेरो महसुस भईरहेको छ । कोरोनाभाइरसको महामारीले गर्दा वैदेशिक रोजगारबाट फर्किने क्रम बढिरहेको छ । नेपालमै ज्यालादारी काम समेत पाउने अवस्था छैन । नेपालको निजी क्षेत्रमा काम गर्ने सुचिकृत भएको कर्मचारीहरुको झण्डै २२ प्रतिशतको रोजगार गुमेको छ । वित्तीय क्षेत्रमा खराब कर्जा बढेको दिनदिनै प्रतिवेदनहरु आईरहेका छन । आर्थिक वर्ष २०७७/७८ मा प्रकाशित मौद्रिक नीतिले लघुवित्तहरुलाई दिइएको १८ प्रतिशत कर्जा ब्याजदरलाई ३ प्रतिशत कटौती गरी १५ प्रतिशतमा झारेको छ । वित्तीय संस्थाले कर्जा लगानी गरेको शिर्षकमा ग्राहकले कर्जा लगानि गरे-नगरेको अनुगनम प्रभावकारी हुन सकिरहेको छैन । 

समुदायमा एउटै ग्राहक धेरै लघुवित्तमा बसेकोले कर्जा सुरक्षित हुने वातावरण कम रहेको छ । यस्ता ग्राहकहरुको मासिक आम्दानी भन्दा तिर्ने रकम बढी हुने हुदा कर्जा तथा ब्याज समेत उठाउन हम्मे हम्मे भईरहेको छ भने लगानि गर्नलाई चुनौति बढी रहेको छ ।

नेपालमा झण्डै ३३ लाख महिला दिदीबहिनी लघुवित्त क्षेत्रमा आवद्ध रहेका छन । यो प्रक्रिया हरेक दिन बढ्दो दरमा हुने गर्दछ । तथ्यांक विभाग अनुसार अहिले नेपालको जनसंख्या ३ करोड ३८ हजार पुगेको छ । कुल नेपालको ऋणलाई जनसंख्यासँग तुलना गर्दा प्रत्येक नेपालीको भागमा ४२ हजार ६ सय सरकारी ऋण पुगेको छ । यो नेपालको लागि ठुलो चुनौतिको विषय हो । 

विशेषगरी वित्तीय क्षेत्रले कर्जा लगानी गर्दा ध्यान दिनु पर्ने कुरा पनि हो । कुल जनसंख्याको २५.२ प्रतिशत चरम गरिवीको रेखामुनि रहेकोले वित्तीय संस्थामा आवद्ध ग्राहकको वास्तविक आम्दानी र ऊसंग भएको विशिष्ट सीपका आधारमा कस्तो प्रकृतिको ग्राहक हो भनेर लुघवित्तसंग कुनै आधिकारिक मान्यता प्राप्त तथ्याँक हुदैन । कोरोना रोग माहामारीको निदान कहिले हुने कुनै टुङगो छैन । यि विविध बाहिर देखिने चुनौतीहरु हुन् । यस समयमा लुघुवित्त संस्थाहरुको कर्जा लगानि गर्ने, नयाँ ग्राहक बनाउने वा समुदायमा कार्यक्रम लैजादा बिद्यमान रणनीतिमा अवश्य पनि परिर्वतन हुन आवश्यक देखिन्छ ।  

कस्ता रणनीतिहरु अपनाउने:

१.कर्मचारीहरुको क्षमता अभिवृद्धि; लघुवित्त क्षेत्रमा आवद्ध कर्मचारीहरुलाई वाणिज्य बैंकलाई दिइए जस्तो जिम्मेवारी दिइएको हुदैन । सोही अनुसार कर्मचारी नियुक्ति गरिएको हुन्छ तसर्थ कर्मचारीहरुलाई समाजिक उत्प्रेरणाको बारेमा पर्याप्त ज्ञान-सीप दिनु पर्दछ । यसलाई वित्तीय संस्थाले लगानिको रुपमा बुझ्नु पर्दछ । जसले वित्तीय क्षेत्रको उद्देश्य पुरा गर्न र ग्राहकको आम्दानि विस्तार गर्नमा प्राविधिक पक्षहरु सजिलै ग्राहकलाई सन्तुष्ट हुने गरी सिकाउन र भन्न सकोस ।

२. समुदायमा कार्यक्रम विस्तार; लघुवित्तको मर्म अनुरुप वित्तीय पहुचसंग पछाडि परेका समुदाय भनेका पक्कै पनि गरीवीको रेखामुनि रहेका हुनसक्छन । उनिहरुको आम्दानीको श्रोतको आधारमा र वित्तीय साक्षरताको महत्वका बारेमा समुदायका सबै अभिभावक तथा महिलाहरुसँग महिनाको एक वा दुई दिन छलफल गर्ने गर्नु पर्दछ । वित्तीय साक्षरता बारेमा पर्याप्त ज्ञान भए पश्चात वित्तीय संस्थाको महत्व बारे बुझ्न सजिलो हुनेछ र कार्यक्रम लागू गर्न सजिलो हुनेछ । वित्तीय संस्थाले संस्थाकाो मुनाफाको आधारमा ग्राहक संरक्षण गर्ने उद्देश्यले समुदाय स्तरमा नै समस्या पहिचान गरेर खानेपानी धाराहरु, माछापालन पोखरीहरु, कृषि उत्पादन, सिलाईकटाई मेशिन, होमस्टे, सिचाई कुलो आदि जस्ता प्राविधिक पक्षमा विशेष ध्यान दिनुपर्दछ । यि मार्फत समुदायमा जोडिदा निर्जीवन बीमा कम्पनीलाई विर्सनु हुदैन । यस्ता कुराहरुले समुदायको आर्थिक आम्दानि वृद्धि हुने र लघुवित्तको प्रभाव पनि बढ्न सक्छ ।

३. कर्जा लगानि; कर्जा ग्राहकले विभिन्न उद्देश्यले कर्जा माग गर्दछ, लिन्छ । तर के कर्जा लिनु पूर्व पारिवारिक सल्लाह भएको छ ? भन्ने कुराको हेक्का नराखेर नै कर्जा लगानि भयो भने त्यो ठुलो चुनौति हुनेगर्दछ । यद्यपी ग्राहकले कर्जा लगानि गर्ने क्षेत्र, वर्तमान परिस्थितिमा कस्तो छ वा जोखीम कत्तिको रहेको छ ? यि विविध प्राविधिक पक्षहरुलाई आँकलन गरेर ग्राहकलाई कर्जा लगानि गर्न सक्नु लघुवित्तहरुको मुख्य क्षमता हो ।

कोरोना रोग महामारीको समयमा ग्राहकहरुले कर्जा लिन खोज्दा लघुवित्तले कोरोना रोग माहामारी भन्दा पहिलेकै मापदण्ड अपनाएर लगानी गर्यो भने कर्जा कम लगानि हुने वा ग्राहक कर्जा लिन डराउने समस्या हुने गर्दछ । यद्यपी ग्राहकलाई कर्जा तिर्न सक्ने र लगानि क्षेत्रदेखि मुनाफा हुने व्यवसायिक योजना बनाउन सिकाउने, कृषि क्षेत्रमा कर्जा दिदा ग्राहकलाई कृषि सम्बन्धि सीप दिने वा वित्तीय संस्थादेखि ग्राहकले कर्जा लिएर लगानि गरिसकेपछि किस्ता ब्याज मात्र तिर्ने भन्दा आम्दानी पनि गर्न सक्छु भन्ने हेक्का वित्तीय संस्थाले दिन सक्नु पर्दछ ।

४. बचत : समुदाय स्तरमा बचतको कुरा गर्दा सहकारीहरुको नाम अगाडि लिने गर्दछन । वास्तवमा बचतको बारेमा लघुवित्तले वित्तीय साक्षरता कार्यक्रम पर्याप्त बुझाउन सकेन भने बचतमा पक्कै पनि समस्या हुने गर्दछ । तसर्थ बचत किन, कसरी, कति आदी विभिन्न कुराहरु सहकारी भन्दा लघुवित्त क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रमहरु बढी हुने भएकोले समुदाय स्तरमा पर्याप्त जानकारी दिनु पर्दछ ।