स्वास्थ्य

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको लडाईमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छ । अहिले देशभर चिकित्सकसमेत संक्रमित हुने क्रम बढेको छ । यसैक्रममा सिभिल हस्पिटलका डाक्टर र नर्सलाई क्वारेन्टिनमा राखेको होस्टेल घेर्दै स्थानीयले नयाँ बानेश्वरमा अभद्र व्यवहार गरेका थिए ।

मन्त्रालयले भने यस्तो काममा संलग्‍नमाथि कडा कारवाही चलाउन निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्‍वर गौतमले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने जोसुकै भए पनि कारवाही चलाउन निर्देशन दिइएको जानकारी दिए ।

संकटको बेला खटेका स्वास्थ्यकर्मीमाथि कुनै पनि बहानामा हुने दुर्व्यवहार र अपमानजनक घटनाको मन्त्रालयले कडा निन्दा गर्ने समेत उनले उल्लेख गरे । उनका अनुसार नयाँ बानेश्‍वरस्थित निजामती कर्मचारी अस्पतालका डाक्टरमाथि दुर्व्यवहार गर्ने मिलन चोकका स्थानीयमाथि कारवाही चलाउने छ । यसका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।