समाचार

नेपालमा श्रम तथा रोजगार सम्मेलन हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक श्रम तथा रोजगार सम्मेलन आयोजना हुने भएको छ । सरकारले पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको छ ।

मुलुकभित्र स्वस्थ श्रम सम्बन्ध बनाएर स्वदेशमै रोजगारीका सम्भावना खोज्ने उद्देश्यले पहिलो पटक यस्तो सम्मलेन आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

असार १५ र १६ गते काठमाडौंमा आयोजना हुने सम्मेलन नेपाली श्रम बजारमा रोजगारीको सम्भावना, माग र आपूर्तिको विश्लेषण गर्न फलदायी हुने अपेक्षा सरकारको छ ।

मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीका अनुसार रोजगारी सिर्जना गर्न सक्ने सम्भावना बोकेका क्षेत्रमा युवाको आकर्षण बढाई दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यअनुसार सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनले देशमा आवश्यक श्रम नीति, योजना र कार्यक्रम तयार पार्न समेत सहयोग गर्ने उनले उल्लेख गरे ।

सम्मेलनका दौरान जलविद्युत्, सडक, सिँचाइ, खेलकूद, अन्य पूर्वाधारलगायत निर्माण क्षेत्र, साना उद्योग, हस्तकला, जडीबुटी र प्रशोधन उद्योगलगायत घरेलु तथा साना उद्योग, सूचना प्रविधि, सेवा क्षेत्रमा रोजगारीकास सम्भावना र आवश्यक नीतिगत व्यवस्था सम्बन्धमा छलफलको तयारी रहेको छ ।

सम्मेलनमा सरकारी सरोकारवाला निकायका अधिकारी, नेता, स्थानीय तहका जनप्रतिनिधि, विषयगत विज्ञ विशेषज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, रोजगारदता, तालीम प्रदायक संस्था, नमूना उद्यमी, सहकारी, मजदूर सङ्गठनलगायतबाट प्रतिनिधित्व हुने कार्यक्रममा जानकारी दिइयो ।

सरकारले पछिल्लो समय स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ल्याएको कार्यक्रममा बनेटको व्यापक दोहन भइरहेको भन्दै आलोचना भइरहेका सन्दर्भमा सरकारले रोजगारी सम्मेलन आयोजना गर्न लागेको हो ।