विश्व

यूएइमा मृत भेटिएका दुई नेपालीको परिचय खुल्यो

सारजाह । गत ८ अगष्टमा संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा मृत भेटिएका दुई नेपालीको परिचय खुलेको छ । यूएईस्थित नेपाली दूतावासले गराएको जानकारी अनुसार एक जना मोरङ र अर्का एक जना तनहुँका युवा हुन् । उनीहरुको मृत्युको कारणबारे प्रहरीले छानविन गरिरहेको दूतावासले जनाएको छ । केही मानिसहरुलाई पक्राउ समेत गरिएको प्रहरीलाई उदृत गर्दै दूतावासले जानकारी दिएको छ ।

मृतकमध्ये मोरङको बेलबारीका २७ वर्षका किरण गुरुङ र तनहुँका ३६ वर्षीय मंगलराज श्रेष्ठ रहेका छन् । यसअघि श्रेष्ठको मात्र परिचय खुलेको थियो । गुरुङको भने पहिचान भइसकेको थिएन । दुई जनाबीच विवाद भएको र एक अर्कामा धारिलो हतियार प्रहार हुँदा ज्यान गएको अनुमान गरिएको छ । यद्दपी प्रहरीको अनुसन्धानबाट मात्र घटनाको पुष्टी हुने भएको छ । विदेशमा आपसी विवादमा धेरै नेपालीले ज्यान गुमाउने गरेका छन् ।