फिचर

विदेशमा रहेका नेपालीले एक वर्षमा घर पठाए ८ खर्ब ७५ अर्ब रेमिट्यान्स

काठमाडौं । विदेशमा कामको सिलसिलामा पुगेका नेपालीमार्फत नेपालमा एक वर्ष (आव २०७६\७७) मा ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यद्दपी यो रकम अघिल्लो आव २०७५\७६ को तुलनामा भने सामान्य कम हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार गत आर्थिक वर्ष २०७६ \७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले घटेको हो ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको थियो । यो वर्ष कोरोना भाइरसको महामारीका बीचमा पनि जेठमा करीव १ खर्ब रेमिट्यान्स भित्रिएको थियो । यसले यो वर्ष रेमिट्यान्स भारी घट्ने अनुमान असफल बनाएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७६\७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो । नेपालबाट पछिल्ला वर्ष विदेशमा जाने नेपाली नेपालीको संख्यामा समेत कमी देखिएको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७६र७७ मा खुद ट्रान्सफर आयमा १.३ प्रतिशतले कमी आई रु. ९८२ अर्ब २२ करोड कायम भएको छ ।