स्वास्थ्य

काठमाडौंमा कम्तिमा १५ हजार मानिसमा संक्रमण रहेको अनुमान, परीक्षण बढाइदै

काठमाडौं । काठमाडौं उपत्यकामा कम्तिमा १५ हजार मानिसमा कोरोना भाइरसको संक्रमण भएको अनुमानका आधारमा कन्ट्याक्ट ट्रेसिङको काम अगाडी बढाइने भएको छ । उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको हो । यसबाट कम्तिमा १५ हजार मानिस संक्रमित भेटिने अनुमान गरिएको छ ।

अहिले उपत्यकामा करीव २७ सय मानिसमा कोरोना भेटिएको छ । तर, उनीहरुसँग सम्पर्कमा रहेका सबैको परीक्षण हुन सकेको छैन । उपत्यकामा समुदायस्तरमै कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय फोरमले गरेको हो ।

‘स्वास्थ्य मन्त्रालयको टिमसहित मङ्गलबारदेखि नै उपत्यकाका १८ वटै पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको कार्य अघि बढाउछौँ’, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने । उनका अनुसार उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङको दायरामा परेका नागरिकको टेस्टिङ गरिेनेछ ।

यस काममा स्वास्थ्य मन्त्रालयबाट पनि टोली खटिनेछ । शाक्यका अनुसार उपत्यकाका १८ वटै पालिकाको तथ्याङ्कमा २७ सय ४६ जना सङ्क्रमित भेटिएको छ । त्यसका आधारमा झण्डै २८ हजार पाँच सयको कन्ट्राक्ट ट्रेसिङ गर्नुपर्ने हुन सक्ने अनुमान गरिएको छ ।

ढिलोमा १५ गतेसम्ममा ती सबैको परीक्षण भइसक्ने भएको छ । लुकेर बसेका संक्रमितको खोजीमा यो परीक्षण केन्द्रित हुने उनको भनाई छ । बैठकले उपत्यकाका पालिकाबाट प्रवाहित हुँदै आएका सेवामध्ये अत्याश्यक बाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा फेरि भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय समेत भएको छ ।