फिचर

विदेशबाट आउँदा पिसिआर नेगेटिभ भएका नेपाली काठमाडौंबाट सिधै घर जान पाउने

काठमाडौं । सरकारले सेप्टेबर महिनाका लागि नियमित तथा चार्टर्ड उडानको तालीका तय गरेको छ । त्यसअनुसार नेपाल आउन पाउने र नपाउने शर्तसमेत तोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अब विदेशबाट फर्कदा कम्तिमा ७२ घण्टायताको पिसिआर नेगेटिभ आएको प्रमाण यात्रुले एयरलाइन्सलाई दिनु पर्नेछ । त्यसो नभएसम हवाईजहाज चढ्न पाइने छैन । तर जुन मुलुकमा पिसिआर गर्न सहज छैन । ती मुलुकमा भने सरकारले चार्टर्ड जहाज पठाउनेछ । उनीहरुलाई काठमाडौं ल्याएर होटेल क्वारेन्टिनमा राखिनेछ ।

तर, पिसिआर नेगेटिभ प्रमाण देखाएपछि भने एउटा यात्रा विवरण देखिने फारम भरेपछि विमानस्थलबाट सिधै घर जान सकिने भएको छ । सरकारले तोकेको शर्त अनुसार होटेल क्वारेन्टिनको खर्च भने यात्रु स्वयमले बेहोर्नुपर्नेछ । तर, सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट उद्धार गरेर ल्याएका नेपालीको खर्च भने सरकारले स्वयमले बेहोर्नेछ । यसको सूचि भने सम्बन्धित मुलुकका दूतावासले गर्नेछन् ।

अब १ सेप्टेम्बर भरी गर्ने उडानका आधारमा त्यसपछिको उडान तय हुने पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । अहिले दैनिक अधिकतम ५ सय जना मात्र यात्रुलाई काठमाडौं ल्याउने गरी अनुमति दिइएको छ । त्यसअनुसार टर्कीस एयर र कतार एयरवेजले अधिकतम १ सय जना मात्र बोक्ने गरी अनुमति पाएका छन् ।पहिलो चरणमा नेपाली नागरिक, कुटनीतिक नियोगका कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारी र विकास साझेदारी संघसंस्थाका कर्मचारीलाई मात्र नेपाल आउने अनुमति मिल्नेछ । गैरआवासीय नेपाली र पर्यटक भने अहिले आउन पाउने छैनन् ।