स्वास्थ्य

चितवनमा बुधबार थपिए ४४ संक्रमित

भरतपुर । चितवन कोरोना भाइरसको अर्को इपिसेन्टर बन्ने संकेत गरेको छ । दैनिक तिब्र गतिमा बढिरहेको संक्रमणले चितवन र यस आसपासका क्षेत्र नराम्रोसँग प्रभावित हुने देखिएको छ । बुधबार मात्र यहाँ ४४ जनामा कोरोनो भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति भएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुुष्टि हुनेमा भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै मानिस छन् । महानगरमा २० महिला र १६ पुरुष गरि ३६ जनामा संक्रमण देखिएको छ । ५ वर्षदेखि ४६ वर्षसम्मका पुरुष र ८ वर्षदेखि ५४ वर्षसम्मका महिलामा कोरोना पुष्टी भएको हो । भरतपुर–२, ४, ५, ७, ९, १०, ११, १२, १४, १५, १६ नम्बर वडामा कोरोना देखिएको छ ।

भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि ल्यावले जनाएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका २७ र ७१ वर्षीया दुई महिला र २४ वर्षीय एक पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको छ।

उता, खैरहनी नगरपालिका–१ का २६ वर्षीय एक जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीका २३ वर्षीया एक महिला, रुपन्देहीका ५४ वर्षीया एक महिला, तनहुँका ३८ वर्षीय एक पुरुष र धनुषाका ५४ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।