समाचार

लागुऔषध कारोबारीलाई पक्रन रुकुममा प्रहरीले चलायो गोली

फाइल

मुसिकोट । रुकुमपश्चिममा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ । दुई लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको पुष्टी गरेको छ । मुसीकोट नगरपालिका–४ ठाराढुंगाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्रेको हो । गोली प्रहारबाट एकजना घाइते भएका छन् ।

दुई जना पक्राउ परेपनि एकजना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जानकारी दिएको छ । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुनलाई गोली लागेको छ । पुलिसले उनको तिघ्रामा गोली हानेको थियो । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन् । अर्का जयप्रकाश घर्ती भने फरार छन् ।

रुकुमपूर्वमा लागुऔषध अफिमसहित केही व्यक्ति पक्राउ परेको विषयमा अनुसन्धान गर्दा उनीहरुको समेत नाम जोडिएपछि प्रहरी खोजीमा थियो । सोही खोजीका क्रममा प्रहरीले गोली चलाएर पक्राउ गरेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।