स्वास्थ्य

वीरगन्जमा कोरोनाबाट थप २ को मृत्यु, ४४ पुगे ज्यान गुमाउने

वीरगन्ज । नेपालमा कोरोनाबाट सबैभन्दा उच्च मृत्यु भएको जिल्ला पर्सामा आज थप दुई जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको हो । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो ।

यी दुई सँगै अब वीरगञ्जमा कोरोना संक्रमणबाट ज्यान गुमाउने मानिसको संख्या ४४ पुगेको छ । त्यसमध्ये ३२ जना पर्साका छन् । १० जना बारा र २ जना रौतहटका हुन् । एक जनाको भने पहिचान खुलेको छैन । ३१ जेठा वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा कोरोना पुष्टी भएपनि उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

बिहीबार ज्यान गुमाएका मध्ये ८ भदौमा नारायणी अस्पतालमा भर्ना भएका ७२ वर्षीय पुरुष निमोनियाको बिरामी रहेको अस्पतालले जनाएको छ ।

उता, हर्दियाकी २३ वर्षीया संक्रमित महिला भने गर्भवतीसमेत रहेको बताइएको छ । उनको पेटमा ३३ हप्ताको बच्चा थियो । उनी ८ भदौमा अस्पताल भर्ना भएकी थिइन् । स्वासप्रस्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर, बिहीबार उनको ज्यान गएको छ ।