समाचार

सिन्धुपाल्चोक पहिरोमा हराइरहेका ६ जना अझै भेटिएनन्, खोजी बन्द

चौतारा । सिन्धुपालचोक, लिदी पहिरोमा हराइरहेकामध्ये ६ जना अझै वेपत्ता छन् । पहिरो गएको १५ दिनसम्म पनि नभेटिएपछि अब उनीहरुको खोजी बन्द गरिएको प्रहरीले जनाएको थियो । बुधबार र बिहीबार दिनभर सेना र प्रहरी तथा स्थानीयले उनीहरुको खोजी तिब्र बनाएका थिए । तर, कुनै प्रमाण फेला परेनन् । सोहीकारण पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी बन्द गरिएको हो ।

साउन ३० मा जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोले ३९ जना पुरेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपालचोकले दिएको जानकारी अनुसार अहिलेसम्म ३३ जनाको शव फेला परेको छ। ६ जना अहिले पनि बेपत्ता छन्। बेपत्ता हुनेमा सोही वडाका ४८ वर्षिया सोमरानी दोङ, २४ वर्षीया साइली दोङ, ८ वर्षीया प्रिया दोङ, २५ वर्षीय प्रकाश दोङ, दुई वर्षीय बालक आयुष दोङ र वडा नम्बर ३ का १७ वर्षीया सुवास दोङ रहेका छन्।

बेपत्ता भएका मानिसलाई पहिरोसँगै खोलाले बगाएको आंशका गरिएको छ । परिवारको सहमति मै वेपत्ताको खोजी बन्द गरिएको स्थानीय तहका पदाधिकारीले बताएकाछन् । यहाँ अहिले वस्ती स्थानान्तरणको प्रक्रिया चलिरहेको छ । यो बस्ती भूकम्पपछि जोखिमपूर्ण भनी किटान गरिएको हो । तर, बेलैमा व्यवस्थापन हुन नसक्दा ठूलो मानवीय क्षति बेहोर्नु परेको छ ।