रोचक खवर

नेपालमा कोरोनालाई जित्ने मानिसको संख्या २० हजार नाघ्यो

काठमाडौं । नेपालमा साढे ३५ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । त्यसमध्ये आधा भन्दा बढीले भाइरसलाई पराजित गर्न सफल भएका छन् । तथ्यांक अनुसार कोरोना सङ्क्रमितमध्ये ५६ दशमलव ५ प्रतिशत निको भएर घर फकिसकेका छन् । बिहीबार ५ सय ६९ जनाले कोरोनालाई जिते ।

यससँगै नेपालमा कोरोनालाई जित्नेको संख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बिहीबार कुल १२ हजार ६ सय २९ जनाको परीक्षण गरिएको थियो । त्यसबाट १ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेको संख्या ३५ हजार ५ सय २९ रहेको छ ।

देशभर १ सय ४७ जना आईसीयूमा छन् । १७ जनाको अवस्था भने गम्भीर रहेको छ । उनीहरुलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ । सरकारले देशभर अहिलेसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर परीक्षण भइसकेको जानकारी गराएको छ । यो कुल जनसंख्याको २ प्रतिशत हो ।

जुन सरकारले यसअघि राखेको लक्ष्य थियो । तर, संक्रमण बढेसँगै यसभन्दा धेरै मानिसमा परीक्षण गर्नुपर्ने बाध्यता भने आएको छ । पछिल्लो समय काठमाडौं, ललितपुर, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट र सर्लाही बढी संक्रमित भएका जिल्ला बनेका छन् । मुस्ताङ र हुम्लामा एक जना पनि सङ्क्रमित छैनन् ।