फिचर

जोखिमयुक्त बस्ती स्थानान्तरणबारे प्रधनमन्त्री र सभामुखबीच छलफल

काठमाडौं । सिन्धुपाल्चोकका बाढी तथा पहिरो पिडित व्यक्तिको बस्ती स्थानान्तरणका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटाबीच छलफल भएको छ । प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा शनिबार साँझ उनको निवास वालुवाटार पुगेका थिए ।

सभामुखको सचिवालयका अनुसार दुई नेताबीच बाढीपहिरोबाट विस्थापितको सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्ने सम्बन्धमा छलफल भएको छ ।

भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति तथा उनीहरुलाई अहिले मिलाइएको अस्थायी बसोबास प्रबन्धबारे प्रधानमन्त्रीलाई जानकारी गराएको सचिवालयले जनाएको छ ।


भेटमा सभामुख सापकोटाले जोखिममा परेका बस्तीहरूको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरूको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासाजस्ता विषय उठाएका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफु गम्भीर रहेको भन्दै सम्बन्धित काम छिट्टै अगाडी बढ्ने आश्वासन दिएका छन् । ३० साउनमा लिदीमा गएको पहिरोा ३९ जना पुरिएका थिए ।

यहाँबाट विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका १ बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ। यो वर्ष मात्र सिन्धुपाल्चोकका लिदी, जम्बु, मेलम्ची, फुल्पिङ लगायतका स्थानमा बाढी र पहिरोमा ५६ जनाको मृत्यु भएको । २६ जना अझै बेपत्ता रहेको प्रहरीको तथ्यांक छ ।