फिचर

विश्वभर कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ४१०

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउने नेपालीको संख्या ४१० पुगेको छ । नेपालमा शनिबार साँझसम्म २१५ जनाको निधन भएको छ । नेपाल बाहिर भने कुल १ सय ९५ जनाको निधन भएको छ । यसरी संसारभर रहेका नेपालीको कुल मृत्यु ४१० पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

संघका अनुसार संक्रमणबाट विदेशमा मात्र यो साता थप ३ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १ सय ९५ जना नेपालीहरुको ज्यान गएको हो । यो साता बेलायतमा १ जना र युएईमा २ जनाको ज्यान गएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले उपलब्ध गराएको तथ्यांक अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण केही बढेको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा समेत संक्रमण सामान्य बढ्न थालेको देखिएको छ ।

हालसम्म विश्वका ३८ देशमा नेपालीमा कोरोना भाइरस देखिएको छ । कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीको मृत्यु भएको छ ।

हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा ३७ हजार ३ सय ४० जना कोरोना भाइरसबाट संक्रमित भएका छन । २० हजार ५ सय ५५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ५५ प्रतिशत हो ।

डा सापकोटाले कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गर्दै आफूलाई पहिलो प्राथमिकतामा राखेर सर्तकता अपनाउन आग्रह समेत गरेका छन् । मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसंगित सुन्न र योग तथा ध्यान गर्न उनले संक्रमितलाई सुझाव दिएका छन् ।