फिचर

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौभरी नखुल्ने

काठमाडौं । नेपालमा लामो दुरीको सार्वजनिक यातायात र आन्तरिक उडानमाथिको प्रतिवन्ध थप १५ दिन लम्बिएको छ । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो । यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर, कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित गरिएको थियो । तर, संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै सरकारले अन्तरजिल्ला यातायात र अन्तरिक हवाई उडान प्रतिवन्ध कायमै राख्ने निर्णय लिएको हो ।

विद्यालय र कलेजसहितका शैक्षिक संस्था समेत भदौ मसान्तसम्म बन्द नै रहनेछन् । अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु शुँदैछ । सरकारले दैनिक ५०० जना मात्र ल्याउन दिने निर्णय गरेको छ ।

आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर रायले यो संख्या बढाउनु पर्ने प्रस्ताव गरेका थिए । यसमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । अब कुनै कम्पनीले पीसीआर टेष्ट, होटल क्वारेन्टिनसहित सबै खर्च व्यहोर्ने गरी नेपाली कामदारलाई नेपाल पठाउन चाहेमा ५ सय भन्दा बढी समेत नेपालीलाई काठमाडौं ल्याउन पाइनेछ ।