स्वास्थ्य

चितवनमा थपिए ५३ संक्रमित

भरतपुर । सोमबार चितवनमा ५३ जना कोरोना भाइरसका नयाँ संक्रमित थप भएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालामा आइतबार राति आएको नतिजाबाट चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिनाको १० महिने शिशु देखि ६५ वर्षीया वृद्धासम्मलाई संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

भरतपुरमा आइतबार राति गरिएको परीक्षणमा चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्। ती मध्ये ६ जना महिला र ६ जना पुरुष छन्। उनीहरूको भरतपुर अस्पताल स्वाब केन्द्र, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो ।

पूर्वीचितवनको राप्ती नगरपालिकाका ६ जनामा समेत संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । यहाँ १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष रहेका छन्। उता, गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

यता, धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबैजना भरतपुर महानगरपालिकाका रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।