स्वास्थ्य

चितवनमा एकै दिन तीन जनाको कोरोनाका कारण मृत्यु

भरतपुर । चितवनमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन तीन जनाको ज्यान ज्यान गएको छ । कोरोना भाइरस पुष्टी नभएका तीन जनाकै मृत्युपछि परीक्षण गर्दा कोरोना देखिएको हो । जिल्लामा पिसिआर परीक्षण बीना अस्पतालहरुले भर्ना नलिने भएकाले बिरामी भएर गएका उनीहरुको सोमबार विभिन्न अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पतालमा निधन भएको हो ।

जिल्लाका मेडिकल कलेज र अस्पतालमा अहिले गम्भीर बिरामीलाई सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै भर्ना लिइदैन । जसले गर्दा उपचारपछि निको हुने बिरामीले समेत अकालमा ज्यान गुमाउनु परेको छ ।

भरतपुर अस्पताल स्रोतका अनुसार तीन जनामै निमोनियाको समस्या देखिएको थियो । उनीको मृत्युपछि गरिएको स्वाब सङ्कलन र परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । नतिजा सोमबार राती अबेर आएको छ ।

चितवनमा ८ वर्षिय युवती, ५५ वर्षिय महिला र ६५ वर्षिय पुरुषको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको हो । बिहान ७ बजे अस्पताल ल्याइपुर्याएकी खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको दिउँसो १ बजे आकस्मिक कक्षमै मृत्यु भएको थियो । उनलाई मेडिकल कलेजले भर्ना लिन नमानेपछि भरतपुर अस्पताल लगिएको आफन्तले जानकारी दिएका छन् ।

उता, भरतपुर–११ का ६५ वर्षीय पुरुषको चितवन अस्पतालमा एक्सरे गरेपछि भरतपुर अस्पताल रिफर गरिएको थियो । उनको सोमबार ३ बजे मृत्यु भएको थियो । भरतपुर–११ कै १८ वर्षकी युवतीलाई नारायणी सामुदायिक अस्पतालले भरतपुर अस्पताल पठाएको थियो। उनको पनि ३ बजे मृत्यु भएको थियो ।