कला / साहित्य

आजबाट सोह्रश्राद्ध शुरु

काठमाडौं । आजबाट पितृ पक्ष शुरु हुँदैछ । दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान को काम आजबाट १६ दिनसम्म जारी रहनेछ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सोह्रश्राद्ध प्रारम्भ हुन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मान गरि पुज्ने गरिन्छ ।

सोहीकारण यसलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको मान्यता छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरेर मनाइदैछ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा रहेको छ । सोही परम्पराअनुसार सोह्रश्राद्ध गरिन्छ ।

यो बेला पितृले समेत सम्मानको आश गरी बस्छन् भन्ने मान्यता रहेको छ । पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनिन्छ । धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुजस्ता ग्रन्थमा यो विषय उल्लेख छ ।


वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्ध गर्छन् ।

तिथिभर उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्छ । तर, यो वर्ष भने त्यसरी जम्मा हुन पाइदैन ।

यो वर्ष सकेसम्म घरमै परिवारका सदस्य मात्र बसेर श्राद्ध मनाउन आह्वान गरिएको छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ सुरू हुन्छ । तर, यो वर्ष भने अधिकमासका कारण एक महिना ढिलामात्र दशैं शुरु हुनेछ ।