फिचर

विदेशी एयरलाइन्सले नेपाल एयरलाइन्सको भन्दा महंगो भाडा लिन नपाउने

काठमाडौं । अहिले विदेशबाट फर्कने नेपालीलाई लक्षित गरी सरकारले अन्तर्राष्ट्रिय नियमित उडान खुला गरेको छ । तर, यही मौकाको फाइदा उठाउन वायुसेवा कम्पनीले मंहगो शूल्कमा टिकट बिक्रि गरिरहेका छन् ।

यसै सन्दर्भमा पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलाईन्सको उडान भएको रुटमा निगमले तय गरेको भाडादर भन्दा महंगोमा यात्रु ल्याउने गरी विदेशी एयरलाइन्सलाई अनुमति नदिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीबाट अनियन्त्रित रुपमा कालोबजारी भएको गुनासो आएमा एयरलाइन्सबाटै नियन्त्रण हुनुपर्ने भन्दै यसको अनुगमन तथा सहजीकरण गर्न विदेशी कुटनीतिक नियोग, गैर आवासिय नेपाली संघसँग एनआरएन)सँग सहयोग लिइने उल्लेख गरेका छन् ।

आज मन्त्रालयमा बसेको बैठकमा हवाई भाडादरमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानुनी मुनाफा कायम गरी भाडादर असुल नगर्नरनगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई सचेत गराउने निर्णय समेत भएको छ ।

नियमित उडानमा बजेट एयरले अन्य एयरलाइन्सको भन्दा कम भाडादरमा उडान गर्नुपर्ने, चार्टर उडानको सम्न्धमा पर्यटन मन्त्रालयले यसअघि तोकेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिने निर्णय समेत गरेको छ ।

उता, २५ अगष्टमा १६१ जना यात्रु लिएर काठमाडौं आएको एयर अरेवियाले पीसीआर नेगेटिभ भएका सबै यात्रुको होटेल क्वारेन्टिन वापतको रकम तिर्नुपर्ने निर्णय बैठकले गरेको छ । सरकारले एउटै उडानबाट पिसिआर नेगेटिभ आएका र परीक्षण नगरेका यात्रु ल्याउन प्रतिवन्ध लगाएको छ ।

तर, एयर अरेवियाले भने सारजहाबाट आउँदा १४२ जना पीसीआर गरेको, १८ जना आरडिटी गरेको र एकजना केही पनि नगरेको यात्रु ल्याएको थियो । मन्त्री भट्टराईले रकम फिर्ता नगरे कारवाही गर्न समेत निर्देशन दिएका छन् ।