फिचर

महामारीपछि पहिलो हिमाल आरोहण अनुमति जारी

काठमाडौं । कोरोना भाइरसको महामारीपछि पहिलो पटक हिमाल आरोहण अनुमति जारी भएको छ । यसलाई पर्यटनसँग सम्बन्धित सरोकारवालाले सुखद शुरुवातका रुपमा समेत लिएका छन् । गत चैतयता पर्यटनका सबै अवयवहरु शुन्य व्यापारमा छन् । सोहीकारण नेपालको यूनिक प्रडक्ट पर्वतारोहण र पदयात्राले छिटो पर्यटनलाई रिभाइभ गर्न सक्ने विश्वास लिइएको छ ।

सरकारले शरद ऋतुका लागि पर्यटकीय गतिविधि खुला गरेको छ । पर्यटन विभागले ६ जनाको नेपाली टोलीलाई बरून्चे हिमाल (७१२९ मिटर) आरोहणको अनुमति जारी गरेको छ । टोलीलाई पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले शुक्रबार आरोहण अनुमति हस्तान्तरण गरेका छन् ।

सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई हिमाल आरोहण गर्न नेपाल आउने अनुमति दिएको छ । यो टोलीले आरोहण अनुमति भने लिइसकेको छैन । शुक्रबार अनुमति लिएको ६ जनाको टोलीको नेतृत्व दावा स्टेभन शेर्पाले गर्नेछ ।

पर्यटन विभागका अनुसार अब हिमाल आरोहण गर्न जान चाहने नेपाली वा विदेशी नागरिकले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गरी आरोहणमा जान सक्छन् । त्यसका लागि विभाग स्वयमले सहजीकरण समेत गर्नेछ ।