फिचर

युद्धमा मारिएका आफ्नै सेनालाई ट्रम्पले भने हरुवा, विवादमा राष्ट्रपति

गुगल फाईल फोटो

काठमाडौं । युद्धमा मारिएका आफ्नै सेनालाई हरुवा र बुद्धुको संज्ञा दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी एक पटक आलोचित बन्न पुगेका छन् । अमेरिकामा राष्ट्रपति पदको चुनाव नजिकिएको छ । यो समय आएको उनको अभिव्यक्तिले राष्ट्रपति नराम्रोसँग फस्न पुगेका हुन् ।

ट्रम्पले सन् २००१८ मा दिएको अभिव्यक्ति ‘द एटलान्टिस’, एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजमा समाचार बनेको छ । त्यो अभिव्यक्तिको यतिबेला समाचार बनेपछि अभिव्यक्ति विश्वव्यापी विवादको विषय बन्न पुगेको छ ।

राष्ट्रपति र उनका सहयोगी यो दावि मान्न तयार छैनन् । उनीहरु यो समाचारलाई फेक मान्छन् । द एटलान्टिस पत्रिकाले उल्लेख गरेअनुसार सन् २०१८ मा पेरिसस्थित अमेरिकी सैनिकको स्मारक स्थलमा जाने ट्रम्पको कार्यक्रम रद्द भएको थियो । त्यसबेला राष्ट्रपतिले स्मारक स्थललाई ‘हारेका मान्छेले भरिएको ठाउँ’ भएको अभिव्यक्ति दिएको पत्रिकाको दावि छ ।

पत्रिकाले बलियो स्रोतका साथ भनेको छ, ‘ट्रम्पले त्यहाँ जाने कार्यक्रम किन रद्द गरे भने त्यतिबेला ठूलो वर्षात भइरहेको थियो, ट्रम्पलाई बर्षाले कपाल बिग्रिने चिन्ता पनि थियो । यसका साथै युद्धमा मारिएका अमेरिकीलाई सम्मान गर्ने कुरा उनका लागि महत्वपूर्ण थिएन।’

ट्रम्पले बेलेयुवुडमा मारिएका १८ सय अमेरिकी सैनिकलाई बुद्धु समेत भनेको पत्रिकाको दावि छ । यो पहिलो विश्वयुद्धकालिन समयको युद्ध हो । समाचार सार्वजनिक भएपछि अमेरिकी सेनाका पूर्व अधिकारीहरुले समेत ट्रम्पको चर्को आलोचना गरिरहेका छन् ।

बीबीसीका अनुसार प्रगतिशील समूह वोटवेट्सले एक भिडियो पोस्टमा युद्धमा आफन्त गुमाएका परिवारहरुको प्रतिक्रिया छापिएको छ । जहाँ बलिदान बारे राष्ट्रपतिलाई केही थाहा नभएको उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार नियमित प्रेस ब्रिफिंगका दौरान पत्रिकाहरुले ‘फेक न्युज’ छापेको प्रतिक्रिया दिएका छन् । आफुले राष्ट्रको हिरोहरुका सम्बन्धमा त्यस्तो अभिव्यक्ति दिन नसक्ने भन्दै उनले आफ्नो बजेटलाई केलाएर हेर्न समेत आग्रह गरेका छन् । उनले आफुले सैन्य बजेट र तलव बढाएको भन्दै उनले पत्रिकाबाट घृणित काम भएको बताए ।