विश्व

रसियन खोपको दोस्रो चरणको परीक्षण पनि सफल, इरान र रसियाबीच सहमति

काठमाडौं । रुसले निर्माण गरिरहेको कोरोना भाइरसविरुद्धको खोपको दोस्रो चरणको परीक्षणको नतिजा उत्साहजनक आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसले रुसमा कोरोनाविरुद्धको लडाईमा विज्ञान एक कदम अगाडी बढेको वैज्ञानिकहरुको प्रतिक्रिया छ । उता, रुस र इरान खोप उत्पादनमा सहकार्य गर्न समेत सहमत भएका छन् ।

तेहरानमा कोभिड १९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने विषयमा सहमति जुटेको छ । मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानी संचारमाध्यमले यो विषयको खुलासा गरेका छन् ।

‘फार्स न्यूज एजेन्सी’ का अनुसार सो सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भिडियो बैठकबाट यस्तो सहमति जुटेको हो । इरानी राजदूतले ‘कोभिड १९ को खोप उत्पादनमा मिलेको सफलताका लागि रुसलाई बधाई ज्ञापन गरेका थिए ।

जलालीले दुवै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रुससँग आग्रह गरिएको समेत जानकारी गराएका छन् । दिमित्रीभले दुई देशबीच कोभिड १९ विरूद्धको खोपको ठूलो मात्र उत्पादन गर्न तयार रहेकोमा रूस उत्साहित रहेको बताएका थिए ।

रुसका अनुसार छिट्टै यो खोप बजारमा आउने गरी तिब्र गतिमा काम भइरहेको छ । रुस कोरोनाबाट बढी प्रभावित मुलुकमध्ये एक हो ।