फिचर

विवाद बढेपछि रेलमार्गको ठेक्का स्थगित

काठमाडौं । १०६ किलोमिटर रेलमार्गका लागि ५४ वटा प्याकेजमा ठेक्का आह्वान भएपछि मिलेमतोको आंशका बढेको थियो । त्यसपछि यो आयोजनाको तिब्र आलोचना शुरु भयो । सोहीकारण सरकारले पूर्व-पश्चिम रेलमार्गको काकडभिटा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का नै स्थगित गरिदिएको छ ।

रेल विभागले मंगलबार सूचना प्रकाशित गरी विवादित बनेको ठेक्का स्थगित भएको स्पष्ट पारेको छ । यहाँ साइट क्लियरेन्सको काम र पूर्वतयारीको काम समेत नसकिदै सरकारले ठेक्का लगाउन हतार गरिरहेको छ । किनकी यो खण्डको जग्गाको मुआब्जा वितरण नै टुंगो लालिसकेको छैन ।

त्यसमाथि थोरै खण्डमा समेत ५४ वटा प्याकेजमा १८ जना ठेकेदार कम्पनीलाई ठेक्का दिने तयारी गरिएपछि आयोजना विवादित बन्न पुगेको हो । रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी सेटिगं गरी टेन्डर आह्वान गरेको भन्दै विभागको आलोचना भएको थियो ।

यो आयोजनाको कुल लागत ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँ अनुमान गरिएको थियो । नेपालमा अधिकांश आयोजना पूर्वतयारी बीना नै अगाडी बढाइएका कारण विवादित बन्ने गरेका छन् ।