घूमघाम

आन्तरिक उडानमा जहाज किन्न नेपाल एयरलाइन्सलाई पर्यटन मन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सलाई आन्तरिक उडानमा प्रयोग गर्न जहाज खरीद प्रक्रिया तत्काल थाल्न निर्देशन दिएका छन् । उनले बुधबार नेपाल एयरलाइन्सका अधिकारीसँग मन्त्रालयमा छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री योगेश भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानमा सञ्चालन गर्ने गरी जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल एयरलाइन्सलाई निर्देशन दिएका हुन् ।

उनले नेपाल एयरलाइन्सँग अब आन्तरिक तर्फ दुईबटा मात्र टुइनअर्टर जहाज भएको र यसले माग थेग्न नसक्ने भन्दै नयाँ किन्ने प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका हुन् । उनले नेपाल एयरलाइन्सलाई पब्लिक मोडलमा लैजान उपयुक्त खाका बनाउन समेत व्यवस्थापनलाई निर्देशन दिएका छन् ।

त्यसका लागि नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी खाका बनाउने उनले निर्देशन दिए । उनले कम्पनीको स्थिति सुधारमा आ आफनो विभागबाट तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न समेत उनले निर्देशन दिएका छन् ।

मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनैपनि क्रियाकलापमा संलग्न कर्मचारीलाई कारवाही गर्न कार्यकारी अध्यक्ष सुशील घिमिरेलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । उनले खर्च कटौती तथा मितव्ययिता अपनाउन, विदेशमा रहेका कर्मचारी कटौती गर्न, बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा वापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत उनले निर्देशन दिए ।